विराटनगर- प्रहरीले विराटनगरबाट नक्कली ‘रेमडिसिभिरको कारोबारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१० का २६ वर्षीय सोनु आलम र विराटनगर–१३ का २३ वर्षीय श्रवणकुमार यादवलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।
विराटनगर–४ स्थित नोबेल शिक्षण अस्पतालनजिक आलमको साथी फार्मेसी नामक औषधि पसल छ । यादव फार्मेसीका कामदार हुन् । आलम र यादवले वीरगञ्जमा उत्पादन हुने ‘स्टासेफ’ नामक एन्टिबायोटिक इन्जेक्सनको बट्टा र बोतलमा नयाँ लेबल लगाउँदै नक्कली ‘रेमडिसिभिर तयार पारेर कोरोना संक्रमितका लागि बिक्री गर्ने गरेको पुष्टि भएको छ । ‘रेमडिसिभिर गम्भीर प्रकृतिका र कडा लक्षण देखिएका कोरोना भाइरस संक्रमितको उपचारमा निक्कै प्रभावकारी मानिएको औषधि हो ।
तर पक्राउ परेकाहरुले ९० रुपैयाँ पर्ने एन्टिबायोटिक इन्जेक्सनको बोतलमा ‘रेमडिसिभिरको लेभल लगाएर बिक्री गर्ने गरेको पुष्टि भएको प्रहरीले जनाएको छ । एसपी खड्काका अनुसार एन्टिबायोटिक र रेम्डेसिभिरको बोतलको साइज (आकार) एउटै हुन्छ । त्यसको फाइदा उठाउँदै गिरोहले स्टिकर लगाएर ‘रेमडिसिभिर सँग ठ्याक्कै मिल्ने गरी तयार पारेर बिक्री गर्दै संक्रमितको जीवनसँग खेलवाड गरिरहेको पाइएको उहाँले बताउनु भयो ।
नक्कली ‘रेमडिसिभिरर उनीहरुले एजेन्टलाई आठ हजार रुपैयाँसम्ममा बिक्री गर्ने र एजेन्टले बिरामीलाई १५ देखि २५ हजार रुपैयाँसम्ममा बिक्री गर्ने गरेको पाइएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले उनीहरुबाट नक्कली रेम्डेसिभिर खरिद गरेर बिरामीलाई महँगोमा बिक्री गर्ने एजेन्टको पनि खोजी थालेको छ । ती एजेन्ट विराटनगरका ठूला औषधि पसल सञ्चालक रहेको प्रहरीको भनाइ छ । अहिले विराटनगरमा ‘रेमडिसिभिरको चरम अभाव छ ।
अभावका कारण नपाइएपछि बिरामीका लागि कालोबजारीको ‘रेमडिसिभिर महँगोमा किन्न बाध्य हुनुपर्ने अवस्था रहेको औषधि व्यवसवायी संघ मोरङका उपाध्यक्ष एवं प्रवक्ता देशबन्धु ढकालले जानकारी दिए। सरकारले सहज रुपमा ल्याउनसक्ने अवस्था सिर्जना गरेर ‘रेमडिसिभिरका नाममा भइरहेको बद्मासीको अन्त्य गर्नुपर्ने उहाँको माग छ । ढकालले अहिले नेपालमा कडा लक्षणसहितका संक्रमितको संख्या बढ्न थालेपछि रेम्डेसिभिरको माग धेरै रहेको बताए । नक्कली ‘रेमडिसिभिर प्रकरणमा पक्राउ परेकामध्ये यादव लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर)का फरार प्रतिवादी हुन् ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार यसअघि २०७७ साल कात्तिक २५ गते विराटनगरको होटल रातो भालोबाट १० ग्राम ब्राउन सुगर बरामद भएको थियो । त्यस ठाउँबाट यादवको सवारी चालक अनुमति पत्र (लाइसेन्स) फेला परे पनि उनी भने फरार रहेको राईले बताए । तर अहिले नक्कली ‘रेमडिसिभिर काण्डमा उनी समातिएपछि उनको लागुऔषधको पुरानो धन्दा बाहिर आएको हो ।
पक्राउ परेकामध्ये आलमलाई भने कालोबजारी ऐनअन्तर्गत मुद्दा चलाउन प्रहरीले शुक्रबार म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ । यादवविरुद्ध भने लागुऔषध ऐनअन्तर्गत मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धानको बाँकी काम अघि बढाइएको जानकारी राईले दिए । लागुऔषध मुद्दाको अनुसन्धान सकिएपछि उनीविरुद्ध प्रहरीले नक्कली ‘रेमडिसिभिर काण्डमा कालोबजार ऐनअन्तर्गत पनि कारबाही अघि बढाउने भएको छ ।

