विराटनगर- मोरङका छुट्टाछुट्टै अस्पतालमा उपचारका लागि भर्ना गरिएका तीन जना कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ । ज्यान गुमाउनेमा एक जना भारतीय नागरिक छन् । मृतकमध्ये भारती नागरिक पुरुष हुन् भने अरु दुई जना विराटनगर र सुनसरीका वृद्धा महिला हुन् ।
भारतीय नागरिकको मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा आज बिहान ७ः१० बजेतिर मृत्यु भएको हो । विराटनगर र सुनसरी ठेगाना भएका दुई वृद्धा महिलाको विराटनगरस्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा आज बिहान र गय राति मृत्यु भयो । नेपालसँग सिमाना जोडिएको भारत जोगवनीका ३० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको विराटका कोभिड अस्पताल इन्चार्ज सुनिल देवले जानकारी दिए ।
अस्पतालले दिएको जानकारी अनुसार व्यापारको सिलसिलामा जोगवनीबाट नेपाल आएका उनी आफन्तको घरमा बस्दै आएका थिए । कोरोना पुष्टि भएपछि उनलाई वैशाख १० गते उपचारका लागि भर्ना गरिएको थियो । मृतकमा निमोनियाको पुरानै समस्या रहेको देवले बताए । मृतकको शव व्यवस्थापन कसरी गर्नेभन्ने विषयमा सरोकारवाला निकायसँग समन्वय भइरहेको उनको भनाइ छ । त्यस्तै कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा विराटनगर महानगरपालिका–६ की ६८ वर्षीया वृद्धाको आज बिहान ६ः४० बजेतिर मृत्यु भएको छ ।
कोभिड अस्पतालका सूचना अधिकारी अनुपम राजवंशीका अनुसार कोरोना पुष्टि भएपछि वृद्धालाई वैशाख १६ गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।
यसैबीच सुनसरी ठेगाना भएकी ६० वर्षीया वृद्धा महिलाको गय राति ९ बजेतिर मृत्यु भएको उनले बताए । राजवंशीका अनुसार कोरोना पुष्टि भएपछि हिजो नै उपचारका लागि भर्ना गरिएको थियो । दुवै मृतकको शव व्यवस्थापनका लागि पहल भइरहेको उनले बताए ।

