विराटनगर-  स्थानीय प्रशासनले विराटनगर सहित चारवटा स्थानीय तहमा एक सातालागि निषेधाज्ञा गर्ने निर्णय गरेको छ । कोरोना संक्रमण दैनिक १ सय भन्दा बढीको संख्यामा बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय मोरंगले आइतबार बिहानबाट लागु हुनेगरी निषेधाज्ञा जारी गरेको हो ।

मोरंगका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाका अनुसार विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका, जहदा गाउँपालिका र कटहरी गाउँपालिकाको वडा नम्बर १,२,३ र ४ मा एक साताका लागि निषेधाज्ञा जारी भएको हो । अन्य पालिकाहरूमा सङक्रमणदर कम भएका कारण निषेधाज्ञाको निर्णय नभएको उहाँले बताउनुभयो ।

शुक्रबार बसेको बैठकले निषेधाज्ञा जारी गर्ने र निषेधित क्षेत्रमा अत्यावश्यकवस्तु बाहेकका सेवाहरू बन्द गर्ने निर्णय भएको उनले बताए । सवारी साधनलाई पूर्ण रुपमा अवातजावत गर्न रोक लगाइने बताउँदै उनले दैनिक उपभोग्य बस्तुका पसल विहान १० बजेसम्मका लागि खोल्न दिने निर्णय भएको  बताउनुभयो ।