विराटनगर - विराटनगर घर भएकी कोरोना भाइरस सङ्क्रमित महिलाको उपचारका क्रममा मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा मृत्यु भएको छ ।
अस्पतालको आइसोलेसनमा विराटनगर महानगरपालिका–७ की ५४ वर्षीया महिलाको आज बिहान ज्यान गएको हो । कोरोना सङ्क्रमणपछि अवस्था चिन्ताजनक बनेकी महिलाको बिहान ३ः३० बजेतिर मृत्यु भएको विराटका कोभिड अस्पताल इन्चार्ज सुनिल देवले जानकारी दिए ।
उनका अनुसार कोरोना पुष्टि भएपछि महिलालाई यहि वैशाख १४ गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । ‘अस्पताल भर्ना गर्दा नै अवस्था धेरै गम्भीर रहेकोले ‘तत्काल उपचार थालेर बचाउने प्रयास गरिएको भए पनि सम्भव हुन सकेन ।’ देवका अनुसार कोरोना सङ्क्रमण पुष्टि भएपछि महिलामा श्वासप्रश्वासको समस्या थपिएको थियो ।
मृतकमा मधुमेहको पुरानै समस्या रहेको जानकारी उहाँले दिनु भयो । देवले मृतक महिलाको शव व्यवस्थापनका लागि पहल भइरहेको बताए।

