विराटनगर- विराटनगरको नोबेल शिक्षण अस्पतालमा सिरहा घर भएका कोरोना भाइरस संक्रमितको आज बिहानका राति मृत्यु भएको छ ।
अस्पतालका प्रबन्धक नारायण दाहालले उपचारका लागि भर्ना गरिएको दुई घण्टा पनि नबित्दै गोलबजार–१२ घर भएका का ४८ वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिनु भयो । उहाँका अनुसार बिहानका राति १२ः२२ बजेतिर संक्रमितको मृत्यु भएको हो ।
संक्रमितलाई उपचारका लागि बुधबार राति १०ः३० बजेतिर अस्पताल ल्याइएको थियो । तत्काल आइसोलेसनमा भर्ना गरेर उपचार थालिए पनि बचाउन नसकिएको दाहालले बताउनु भयो ।
‘अस्पताल भर्ना गर्दा अवस्था निक्कै गम्भीर थियो,’ उहाँले भन्नु भयो, ‘संक्रमितको उपचार थालेको दुई घण्टा नबित्दै मृत्यु भयो ।’ दाहालका अनुसार मृतकमा निमोनियाको पुरानै समस्या थियो ।

