विराटनगर-  मोरङको धनपालथान गाउँपालिका–५ दादरबेरियामा गय राति भएको मोटरसाइकल दुर्घटनामा परेर चालकको ज्यान गएको छ । दुर्घटनामा मोटरसाइकल चालक २२ वर्षीय मन्तोष सरदारको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए।

प्रहरीका अनुसार उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को १४ प ५१९९ नम्बरको मोटरसाइकल धनपालथान गाउँपालिका–५ दादरबेरियामा राति ९ बजेतिर दुर्घटनामा परेको थियो । दुर्घटनामा परेर घाइते भएका सरदारको उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा आज बिहान ५ बजेतिर मृत्यु भएको जानकारी राईले दिए ।

उनका अनुसार घाइतेलाई सुरुमा कोसी अस्पताल भर्ना गरिए पनि अवस्था गम्भीर रहेका कारण थप उपचारका लागि नोबेल लगिएको थियो । प्रहरीले मृतकको साथमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभएको जानकारी दिएको छ ।

तीव्र गतिका कारण नियन्त्रण गुमाउँदा आफै अनियन्त्रित भएर मोटरसाइकल दुर्घटना हुँदा मानवीय क्षति भएको डीएसपी राईले बताए ।