विराटनगर-  तीव्र रुपमा फैलिइरहेको कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि प्रदेश १ मा सुरक्षा सक्रियता बढाइएको छ । नेपाल र ट्राफिक प्रहरीले संयुक्त रुपमा मास्क खोई ? अभियान सञ्चालन गरेका छन् । अबदेखि मास्क नलगाइकन खुलेआम हिँडडुल गर्नेलाई कारबाहीको दायरामा ल्याउने तयारी प्रहरीले गरेको छ ।

त्यसका लागि सडक र सार्वजनिकस्थल सुरक्षाकर्मीको विशेष निगरानीमा पर्न थालेका छन् । निगरानीमा सडक प्रयोगकर्ता, सर्वसाधारण मजदुर, सवारी चालक, सार्वजनिक यातायातका यात्रु, कार्यालयका सेवाग्राही तथा व्यवसायी परेका हुन् । कोरोना रोकथाम र नियन्त्रणका लागि मास्क र सेनिटाइजर वितरण पनि गर्न थालिएको प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्माले बताए । उनका अनुसार नागरिक समाज, पेसाकर्मी, स्काउटकर्मी, सामाजिक अभियन्ता, अधिकारकर्मी, उद्योगी व्यवसायी, सर्वसाधारणसमेतको साथ लिएर अभियान सञ्चालन गरिएको हो ।

सुरक्षाकर्मीले कोरोनाविरुद्ध विभिन्न सचेतनामुलक कार्यक्रम पनि सञ्चालन गरिरहेका छन् । मोरङको विराट चोकस्थित ट्राफिक प्रहरी पोस्टका इन्चार्ज असइ (सहायक निरीक्षक) किशोर निरौलाले मास्क नलगाउनेलाई कोरोनाबाट बच्नका लागि तत्काल मास्क लगाउन सुझाव दिँदै उपलब्ध पनि गराउन थालिएको बताए। स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड पूरा नगरि हिँड्नेहरुको जमात ठूलो हुँदा कोरोना जोखिम बढेको पाइएपछि सबैलाई मास्क र सेनिटाइजरको प्रयोग अनिवार्य गर्न थालिएको ट्राफिक प्रहरी पोस्ट कर्सिया मोरङका इन्चार्ज असइ धमेन्द्र राजवंशीले बताए ।

मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काले पछिल्लो समय कोरोनाविरुद्धको सचेतना अभियानलाई विशेष प्राथमिकतामा राखिएको बताए । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले कोरोनाले आक्रान्त बनाइरहेका बेला अधिकांशले मास्क नलगाइकन खुलेआम हिँडडुल तथा जमघट गर्दा झनै जोखिम बढेको बताए । उनले सार्वजनिक स्थलमा बढ्दो भिडभाड, भेलाजम्मा भएर गरिने कार्यक्रम, विभिन्न समारोह र गोष्ठी तथा भिडभाडयुक्त सबै खालका कार्यक्रमहरुमा रोक लगाइएको जानकारी दिए।

एसपी खड्काले कोरोनाको संक्रमण नियन्त्रणका लागि सुरक्षा निकायले विशेष सक्रियता बढाएको र नियमको पालना नगर्नेलाई कारबाहीको दायरामा ल्याइने उल्लेख गरे । मास्क नलगाउने छुट कसैलाई पनि दिन हुँदैन भन्ने उदेश्यले प्रदेश १ का १४ वटै जिल्लामा एकै साथ मास्क खोई ? अभियान सुरु गरिएको ट्राफिक प्रहरी प्रमुख एसपी शर्माले बताए । एसपी शर्माले कोरोनाविरुद्धको अभियानमा प्रदेशका १४ जिल्लामा रहेका ट्राफिक प्रहरीका ९४ वटै युनिटलाई परिचालन गरिएको जानकारी दिए ।