विराटनगर -  मोरङको केराबारी गाउँपालिका–३ का ३२ वर्षीय हस्त राईको भरुवा बन्दुक पड्किएर मृत्यु भएको छ । वन्यजन्तुको सिकार खेल्न साथीहरुसँग जंगल गएका राईको आफैले बोकेको भरुवा बन्दुक अचानक पड्किएर छर्राले लाग्दा ज्यान गएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार साथीहरु गजेन्द्र राई र रुविन लिम्बूसँग उनी गयराति सिकार खेल्न केराबारी–३ कै बाघदले जंगलमा पुगेका थिए । उनीहरु जंगलमा रहेका मृग, बंदेल लगायतका जंगली जनावरको सिकार खेल्न गएका थिए । सिकार खेल्ने क्रममा बन्दुक पड्किएर घटनास्थलमै सिकारीको मृत्यु भए पनि प्रहरीले भने घटनाका बारेमा आज बिहान मात्रै जानकारी पाएको थियो ।

गजेन्द्र र रुविन आफैले इलाका प्रहरी कार्यालय केराबारीमा आएर घटनाका बारेमा प्रहरीलाई भनेका थिए । त्यसपछि मात्रै केराबारीबाट लगभग ८ किलोमिटर टाढा भएको घटना बाहिरिएको हो । दुवै जनालाई नियन्त्रणमा लिएर घटनाका बारेमा अनुसन्धान थालेको प्रहरीले मृतकको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको छ । प्रहरीले घटनास्थलबाट एक नाल भरुवा बन्दुक पनि बरामद गरेको छ ।