विराटनगर भारतीय एक लाख तीन हजार रुपैयाँसहित धरान घर भएका एक जना विराटनगरबाट हिजोसाँझ पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–८ का ५५ वर्षीय नौसाद मियाँ रहेका छन् ।
भारतबाट प्रतिबन्धित भारतीय नोटसहित नेपाल छिर्दै गरेको अवस्थामा विराटनगर महानगरपालिका–१७ मटेरुवाबाट उनलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए । मियाँको साथबाट पाँच सय दरका दुई सय छ थान (एक लाख तीन हजार भारतीय रुपैयाँ) भारतीय नोट फेला परेको जानकारी उनले दिए।
बरामद भएको भारतीय रकमको नेपाली एक लाख ६४ हजार आठ सय रुपैयाँ हुन्छ । मियाँले स्रोतसमेत खुलाउन नसकेको उक्त रकम अवैध हुण्डी कारोबारको भएको हुनसक्ने आशंका प्रहरीको छ ।
नेपालमा पाँच सय रुपैयाँ माथिका भारतीय नोट बोक्न प्रतिबन्धित छ । अवैध भारतीय नोटसहित पक्राउ परेका मियाँलाई आवश्यक कारबाहीका लागि आज विराटनगर भन्सार कार्यालयमा बुझाइएको जानकारी प्रहरीले दिएको छ

