विराटनगर- विराटनगरको रानी नाका हुँदै भारतबाट आएकी एक महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उदयपुरको त्रियुगा नगरपालिका–७ की ४५ वर्षीया महिलाको एन्टिजेन परीक्षण गर्दा हिजो रिपोर्ट पोजिटिभ आएको हो ।
भारतको जोगवनी हुँदै विराटनगर प्रवेश गरेकी उनको विराटनगर महानगरपालिका–१५ रानीस्थित ‘हेल्थ डेस्क’ मा खटिएका स्वास्थ्यकर्मीले एन्टिजेन परीक्षण गरेका थिए । ज्वरो एक सय डिग्री थियो । महिलामा कोरोना पुष्टि भएको विषयमा प्रदेश १ को सामाजिक विकास मन्त्रालयमा जानकारी गराइएको विराटनगर महानगरपालिकाका स्वास्थ्य संयोजक रमेश कार्कीले बताए । भारतबाट आउने कोरोना संक्रमित महिलामा नयाँ भेरियन्टको आशंका गरिएको छ ।
तर यकिन भइसकेको छैन । ‘हेल्थ डेस्क’मा खटाइएका स्वास्थ्यकर्मीलाई भारतबाट आउनेहरुको विवरण संकलन गर्ने, एन्टिजेन परीक्षण गर्ने, तापक्रम लिने, सोधपुछ गरेर घरतिर पठाउने जिम्मेवारी दिइएको छ । कोरोना भए÷नभएको तत्काल पुष्टि गर्न एन्टिजेन परीक्षण गर्दै रिपोर्ट पोजिटिभ आएमा स्वास्थ्यकर्मीले माथिल्लो निकायमा जानकारी पनि दिनु पर्छ । पछिल्लो समय भारतमा कोरोना संक्रमण दर उच्च छ ।
नयाँ भेटिएका संक्रमितको ‘ट्राभल हिस्ट्री’ पनि भारतसँगै जोडिएपछि कोरोना फैलने जोखिम झन् बढेको कार्कीले बताए। अब तत्कालै संक्रमितको ‘कन्ट्याक ट्रेसिङ’ गरेर नियन्त्रणका लागि पहल नगरे अवस्था असामान्य बन्नसक्ने उनको भनाइ छ । भारतको जोगवनीबाट विराटनगरको रानी नाका हुँदै हिजो पाँच महिला र १४ पुरुष गरेर १९ जना नेपाल भित्रिएका छन् । ती मध्ये एक महिलामा संक्रमण पुष्टि भएको हो ।
हिजो तीन महिला र नौ पुरुष गरेर १२ जना नेपाल आए । चैत महिनाको हालसम्म तीन सय ४९ जना आवश्यक प्रक्रिया पूरा गरेर भारतबाट नेपाल भित्रिएको तथ्यांकले छ ।

