विराटनगर - प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव दर्ता गराउँदा हस्ताक्षर गरेका सांसदलाई हस्ताक्षर फिर्ता लिन नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलले सात दिनको समयसीमा दिएको छ ।
सर्वाेच्च अदालतको फैसलापछि नेकपा खारेज भएसँगै पहिलो पटक नेकपा एमालेको संसदीय दलको बैठक आज प्रदेशसभामा बसेको थियोे । मुख्यमन्त्री तथा संसदीय दलका नेता राईको अध्यक्षतामा बसेको बैठकले अविश्वास प्रस्ताव दर्ता गराउँदा हस्ताक्षर गर्ने सांसदलाई हस्ताक्षर फिर्ता गर्न लिखित निर्देशन दिने निर्णय समेत गरेको छ ।
बैठकले गरेको निर्णयबारे जानकारी गराउँदै मुख्यमन्त्री राईले भने, “संसदीय दलको बैठकले दलको विधान पारित गर्ने, आफ्नो दलको नेताविरुद्ध सदनमा टेबल भएको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसदलाई सो फिर्ता गर्न निर्देशन दिने र संसदीय बोर्ड गठन गर्ने निर्णय भएको छ ।” राईले दलको विधान बमोजिम अविश्वास प्रस्तावबाट नाम फिर्ता नलिने सांसदलाई विधान बमोजिम कार्वाही हुने जानकारी दिएका छन् ।
बैठकले १५ सदस्यीय संसदीय बोर्ड पनी गठन गरेको छ । यसमा मुख्यमन्त्रीसहित चारजना पदेन सदस्य रहेका छन् । दलको नेता, उपनेता, प्रमुख सचेतक र सचेतक पदेन सदस्य रहने विधानत व्यवस्था छ ।हस्ताक्षर गर्ने सांसदहरुलाई सात दिनभित्र हस्ताक्षर फिर्ता लिन आज नै लिखित रुपमा पत्र पठाई निर्देशन दिइने बताउँदै नेकपा एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले भने, “पहिले नेकपा रहेको अवस्थामा कतिपय हाम्रा साथीहरुले समेत आफ्नै दलका नेताविरुद्ध सदनमा अविश्वास प्रस्ताव दर्ता गर्नु भएको थियो । अब उहाँहरु एमालेको सांसद भएकोले सो समर्थन फिर्ता गर्नुपर्छ ।
” राजभण्डारीका अनुसार नेकपा एमाले संसदीय दलको बैठकमा नेकपा माओवादी केन्द्रका उपनेता टंक आङबुहाङसहित मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने केही सांसदहरुसमेत सहभागी थिए । मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव प्रदेशसभामा टेबल भएको छ । तर, त्यसमा छलफल नभई प्रदेशसभा सचिवालयले सूचना टाँस गरी बैठक स्थगन गरेको छ ।
नेकपा एमालेको संसदीय दलको आजको बैठकमा माधव नेपाल समूहका सांसद भीम आचार्य, सांसद राजेन्द्र राई, जीवन घिमिरेलगायत भने सहभागी नभए पनि लीलावल्लभ अधिकारी र तुलसी न्यौपाने भने सहभागी थिए । प्रदेशसभामा नेकपा एमालेको एकल वहुमत छ । आजको बैठकमा ५१ मध्ये ३० जना सांसद सहभागी रहेको प्रमुख सचेतक राजभण्डारीले बताए । उनका अनुसार अब उपनेता र सचेतक पनि चयन गरिने छ ।

