विराटनगर -  मोरङको सुन्दरहरैँचामा शंकास्पद मृत्यु भएको अवस्थामा एक युवाको शव आज बिहान भेटिएको छ । सुन्दरहरैँचा नगरपालिका–५ का २५ वर्षीय सुरज चौधरीको शव तेलिया खोलाको पानीभित्र भेटिएको हो ।

उनको शव खोलाको पानीभित्र डुबिरहेको अवस्थामा देखेपछि स्थानीय बासिन्दाले सुजरको बिहान ६ः३० बजेतिर प्रहरीलाई खवर गरेका हुन् । भित्री कच्ची सडक खण्डको पक्की पुलबाट १० फिटजति तल रहेको खोलामा शव भेटिएको जानकारी मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले दिए ।

मृत फेला परेका सुरजले जिन्स प्वाइन्ट, टी–सर्ट र चप्पल लगाएका छन् । घटनास्थलमा रहेको पुलमाथि भने एउटा मोटरसाइकल भेटिएको छ । पुलमा लडिरहेको अवस्थामा को ३७ प ७४४५ नम्बरको मोटरसाइकल र शव भने पुलमुनिको खोलामा भेटिएपछि प्रहरीले घटनालाई शंकास्पद मानेको छ । घटनाको अनुसन्धानमा खटिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकाल नेतृत्वको टोलीले घटनास्थल मुचुल्का उठाउँदै शव पोस्टमार्टमका लागि पठाएको छ ।

डीएसपी राईका अनुसार मोटरसाइकलमा पश्चिमतर्फ जाँदै गर्दा दुर्घटना भएजस्तो देखिन्छ । तर मोटरसाइकलका धनी २२ वर्षीय राजेश चौधरी भने फरार रहेका कारण घटना यकिन हुन नसकेको प्रहरीले जनाएको छ । फरार रहेका राजेशलाई प्रहरीले खोजिरहेको छ । राईले राजेशलाई नियन्त्रणमा लिइसकेपछि मृत्युको कारण यकिन हुने बताए।

आफन्तले प्रहरीलाई दिएको जानकारी अनुसार हिजो दिउँसो ४ बजेतिर भेट भएपछि सुरज र राजेश एउटै मोटरसाइकलमा हिँडेका थिए । मोटरसाइकलमा सँगै निस्किएका साथीमध्ये सुरज मृत भेटिएका हुन् भने राजेश सम्पर्कविहीन छन् । प्रहरीले मोटरसाइकल फरार रहेका राजेशले चलाएको हुनसक्ने आशंका छ ।

मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । डीएसपी राईका अनुसार मोटरसाइकलमा यात्रा गरिरहेका बेला दुर्घटनामा परी खोलामा खसेर डुबेपछि उठेर बाहिर निस्कन नसक्दा सुरजको त्यहीँ मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । मृत्युको अरु नै कारण हुनसक्ने सम्भावना रहेकाले घटनाको गम्भीर ढङ्गले अनुसन्धान थालिएको उहाँले बताउनु भयो ।