विराटनगर - स्कुलले उपचारवापतको पैसा नतिरिदिएका कारण दुर्घटनामा परेर घाइते भएका सुनसरीका एक युवा विराटनगरको एउटा अस्पतालमा लामो समयदेखि बन्धक बनाइएका छन् ।
उपचारवापतको रकम भुक्तानी नहुँदा घर जान नपाएका इनरुवा नगरपालिका– ७ चाँदबेलाका १९ वर्षीय रविन सरदार एक महिनादेखि विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा बन्धक बनाइएका छन् । सुनसरीको इटहरी उपमहानगरपालिका–१६ बालग्राममा रहेको सनसाइन एकेडेमी बोर्डिङ स्कुलले उनको उपचार गराएवापतको पैसा तिर्न आनाकानी गरिरहेको छ ।
स्कुलको ना ८ ख ८४१८ नम्बरको बस र रविनले चलाएको को २४ प ७३२६ नम्बरको मोटरसाइकल ठोक्किएर गत माघ २१ गते दुर्घटना भएको थियो । इटहरी– ८ फूलबारी टोलमा भएको दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको टाउकोमा गहिरो चोट लाग्नुका साथै मुखको हड्डी टुट्नुका साथै दाँतहरु भाँचिए । अस्पतालका न्युरो सर्जन डा. विवेक वैद्य नेतृत्वको चिकित्सक टोलीले टाउकाको शल्यक्रिया गरेको थियो । पैसा नहुँदा मुखको भने शल्यक्रिया हुन सकिरहेको छ्रैन । उपचार ठीक भएको भन्दै अस्पतालले गत फागुन ४ गते नै डिस्चार्ज दिइसके पनि स्कुलले उपचार गर्दा लागेको पैसा तिर्न नमानेपछि एक महिनासम्म रविनलाई परिवारका सदस्यले घर लैजान सकेका छैनन् ।
अस्पतालले पनि उपचार खर्च भुक्तानी नभएसम्म घर जान नदिने बताएको आमा उकावतीले सरदारले बताइन् । अस्पतालले घर लैजानु भने पनि छोरालाई अस्पतालमै रुँघेर बस्नु परिरहेको उनको भनाइ छ । पीडित पक्षले प्रहरीसँग स्कुलले सेटिङ मिलाएर आफूहरुलाई थप पीडा दिएको गुनासो गरेका छन् । उपचार खर्च तिर्ने सर्तमा स्कुलले सहमतिको कागज गराए पनि अहिलेसम्म नतिरिदिएको रविनका बुवा भोला सरदारले बताए ।
छोरो कस्तो हुने हो भन्ने अन्योलताकाबीच प्रहरी र स्कुलकै दबाबमा सहमति गर्न आफूहरु बाध्य भएको उनले बताए । सहमति गरेर स्कुललाई सहज रुपमा बाटो खुला गरिदिए पनि स्कुलले पैसा नतिरेर बद्मासी गर्दा एक महिनादेखि अस्पतालमै बन्धक बनेको छ ।’ दुर्घटनामा परेर कोही गम्भीर घाइते वा अङ्गभङ्ग भएमा चालकलाई सवारी अङ्गभङ्ग मुद्दा चलाउने कानुनी व्यवस्था छ । तर प्रहरीले भने केही पनि कारबाही नगरिकन छाडिदिएको पाइएको छ ।
मोटरसाइकल चालकले मादक पदार्थ सेवन (मापसे) गरेको र साथमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) पनि नरहेका कारण दुर्घटना गराउनेमाथि कारबाही गर्न नसकिएको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी अर्जुन केसीले बताए । बिना लाइसेन्स मापसे गरे चलाइएको मोटरसाइकलले गलत साइडमा पुगेर बसलाई ठक्कर दिएको उनको दाबी छ ।
स्कुललाई नै उपचार खर्च तिराउन खोज्ने हो भने मोटरसाइकल चालकले जेल जानुपर्ने अवस्था आउनसक्ने चेतावनी उनले दिए । केसीले लाइसेन्स नलिइकन र मापसे गरेर सवारी चलाउन पाइँदैन भन्ने कानुनमै स्पष्ट व्यवस्था रहेकाले कानुन उल्लंघन गर्ने अधिकार कसैलाई नभएको जिकिर गरे । मोटरसाइकलको गल्ती भएकाले गलत नजिर बस्ने हुँदा स्कुललाई उपचार खर्च तिराउन नसकिएको जिकिर उनको छ ।
बरु वडाबाट सिफारिस गराएर उपचार खर्चमा छुट गराउनेतिर लाग्नुपर्ने उनको भनाइ छ । गलत थितिको अन्त्य गर्न स्कुललाई पैसा तिराउन नसकिएको डीएसपी केसीको जिकिर छ । व्यवहारिक पक्ष हेरेर मानवताका नाताले एक लाख २० हजार रुपैयाँ तिरिदिए पनि बाँकी पैसा तिर्नसक्ने अवस्था स्कुलको नभएको स्कुलका मेनेजर दिनेश बुढाथोकीले बताए ।

