विराटनगर - मोरङको रतुवामाईमा बोक्सीको आरोपमा एक वृद्धामाथि मरणासन्न हुने गरी सामूहिक कुटपिट भएको छ । एउटै परिवारका पाँच जनाले मिलेर निर्घात कुटपिट गर्दा रतुवामाई नगरपालिका–२ डोरीयाकी ६० वर्षीया वृद्धाको अवस्था गम्भीर बनेको प्रहरीले जनाएको छ ।

थाममा बाँधेर अमानवीय हिसाबले गरिएको आक्रमणबाट घाइते भएकी वृद्धाको अनुहार, हात, खुट्टा, ढाड लगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ । शुक्रबारराति १० बजेतिर भएको घटनामा घाइते भएकी उनलाई उपचारका लागि कोसी अस्पताल विराटनगरमा भर्ना गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए । कुटपिट र आक्रमणबाट वृद्धा अवस्थाकी श्रीमती बेहोस बनेको देखेपछि श्रीमानले प्रहरीलाई घटनाका बारेमा जानकारी दिएका हुन् ।

वृद्धामाथि ६५ वर्षीय भीमलालसिंह गनगाईं, ६० वर्षीय जितनलालसिंह गनगाईं, ५० वर्षीय लखनलालसिंह गनगाईं, २७ वर्षीय लक्ष्मीप्रसादसिंह गनगाईं र १९ वर्षीया हैरानी गनगाईंले मिलेर निर्घात कुटपिट गरेको प्रहरीले जनाएको छ । हैरानीकी दिदी पुनमदेवी गनगाईंसँग भएको विवादको रिसईबीलाई लिएर बोक्सीको आरोप लगाउँदै वृद्धामाथि सामूहिक आक्रमण गरिएको प्रहरीले जनाएको छ ।

राति घरमा सुतिरहेका बेला घरैबाट उठाएर लग्दै जितनलालको घरनजिकको गाई बाँध्ने गोठ (पाली)मा पुर्याएर थाममा बाँध्दै निर्घात कुटपिट गरेर बेहोस बनाई छाडिदिएको वृद्धाका श्रीमानले प्रहरीलाई बताएका छन् । श्रीमानले घटनामा संलग्नविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले लखनलाल र हैरानीलाई पक्राउ गरेको । उनीहरुविरुद्ध बोक्सी आरोपको कसूरमा मुद्दा चलाउन अनुसन्धानका लागि अदालतबाट आज म्याद थप गरिएको डीएसपी राईले बताए ।

घटनामा संलग्न अन्य तीन जना फरार छन् । प्रहरीले उनीहरुको खोजी गरिरहेको छ । यता वडा अध्यक्ष किरणसिंह गनगाईंले भने बोक्सीको आरोपमा भन्दा पनि जग्गाको सिमानालाई लिएर भएको विवादमा वृद्धामाथि कुटपिट भएको र घटनालाई बोक्सी आरोपमा परिणत गरिएको जिकिर गरे । घाइतेलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएकाले निको भएर वृद्धा घर फर्किएपछि गाउँमै राखेर घटनालााई मिलाइने वडा अध्यक्ष गनगाईंले बताए । उनले वृद्धामा पहिल्यैदेखि रहेको मानसिक समस्याका कारण यस्तो घटना निम्तिएको दाबी गरे।