विराटनगर-नेपाल पत्रकार महासंघ केन्द्रिय समितिको संयोजनमा मोरङका ४० जनालाई आधारभूत पत्रकारिता तालिम दिन थालिएको छ । तालिमको उद्घाटन सोमबार विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले गरे ।
युरोपेली संघ तथा इन्टरनेशनल अलर्टको सहयोगमा महासंघ केन्द्रीय समितिको आयोजनामा मोरङ शाखाको सभाहलमा तालिम सुरू भएको हो । तालिम उद्घाटनगर्दै मेयर पराजुलीले पत्रकारिता क्षेत्र कठिन पेशा भएको भन्दै त्यसैलाई रोजेर प्रशिक्षण लिन आउने सहभागीहरूलाई धन्यवाद दिए ।
उनले तालिम पश्चात खोजमुलक पत्रकारिता गर्नसमेत आग्रह गरे । मेयर पराजुलीले आधारभूत तालिम पश्चात एड्भान्स तालिमका लागि महानगरपालिकाले सहयोग गर्ने आश्वासन दिए ।
उद्घाटन समारोहमा बोल्दै प्रादेशिक सञ्चार प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञ शर्माले पत्रकारिता क्षेत्रमा खड्कीएको जनशक्ति निर्माण गर्न तालिम प्रभावकारी हुने विश्वास व्यक्त गरे । उनले प्रतिष्ठानले हाल पत्रकारिता तालिमको पाठ्यक्रम निर्माण गर्ने क्रममा रहेको जानकारी दिंदै प्रतिष्ठानले समेत प्रशिक्षणका कार्यक्रम सञ्चालन गर्ने बताए ।
उद्घाटन कार्यक्रममा महासंघ मोरङका पूर्व अध्यक्ष शिवबहादुर कार्की, प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष लिलाबल्लभ घिमिरे, महासंघकी प्रतिनिधि संघर्ष पन्त लगायतले शुभकामना दिएका थिए । तालिममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झाले प्रशिक्षण दिनेछन् ।

