विराटनगर, १५ फागुन । महिलालाई नियन्त्रणमा लिँदै नशालु पदार्थ सुँघाएर मोरङको केराबारीको एउटा घरमा गयराति लुटपाट गरिएको छ । केराबारी गाउँपालिका–७ चौबिसेस्थित गणेशबहादुर विकको घरमा भएको नगद र सुनको सिक्री लुटिएको हो । गणेशबहादुर भने काम विशेषले केराबारीकै पाटी गाउँमा पुगेको पाइएको छ ।

श्रीमती उर्मिला विकलाई नशालु पदार्थ सुँघाएर बेहोस बनाउँदै घरभित्र लुटपाट मच्चाएको पाइएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताउनु भयो । घरमा ११ र १३ वर्षका दुई नाबालक छोराछोरीसहित उर्मिला मात्रै बसेको अवस्थामा घटना भएको वडा अध्यक्ष नारायणप्रसाद चेम्जोङ लिम्बूको भनाइ छ । उहाँका अनुसार छोराछोरीसँग सुतिरहेका बेला घरमा पालेको भैँसीको पाडो बाँधेको ठाउँबाट खुस्किएको हुनसक्ने ठानेर राति ११ बजे घरको ढोका खोलेर उर्मिला बाहिर निस्कन खोज्नु भएको थियो । तर ढोकाबाट बाहिर निस्कन नपाउँदै मास्क लगाएर आएका अपरिचित दुई जना नकापधारी युवाले नियन्त्रणमा लिई नशालु पदार्थ सुँघाउँदै उहाँलाई बेहोस बनाएर घरभित्र पसी लुटपाट मच्चाएको वडा अध्यक्ष लिम्बूको भनाइ छ ।

घरभित्र रहेको ४० हजार रुपैयाँ नगद र एक तोलको सुनको सिक्री लुटेर लगेको पाइएको प्रहरीले जनाएको छ । आज बिहानसम्म सामान्य अवस्थामा रहनु भएकी उर्मिलाले प्रहरीलाई घटनाका बारेमा जानकारी दिनु भएको हो । तर दिउँसो उहाँ अचानक बेहोस बन्नु भएको छ । उहाँले आफू बिहान होसमा आउँदा घरभित्र रहेको नगद र सुनको सिक्री लुटिएको अवस्थामा पाएको प्रहरीलाई बताउनु भयो ।

घटनापछि डराएर र आत्तिएर पुनः बेहोस बनेपछि स्थानीय स्वास्थ्य संस्थाले उपचार सम्भव नहुने जानकारी दिएर उनलाई थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा रेफर गरेको जानकारी वडा अध्यक्ष लिम्बूले दिनु भयो । महिलामाथि कुनै कुटपिट र आक्रमण भने नभएको प्रहरीको भनाइ छ । घटनामा संलग्नको पहिचान हुन सकिरहेको छैन । एसपी खड्काले लुटेरा समूहको खोजी थालेर घटनाका बारेमा थप अनुसन्धान अघि बढाइएको जानकारी दिनु भयो ।