विराटनगर, १५ फागुन । मोरङको केराबारी गाउँपालिका–७ नर्कटेस्थित एउटा बिहे घरमा आज बिहान मच्चाइएको आक्रमण र लुटपाटको घटनामा परेर बेहुलीका बुवासहित चार जना घाइते भएका छन् । गुण्डागर्दी गर्ने समूहले मदिरा सेवन गरेर साङ्घातिक हमला गरेको हो ।
स्थानीय भगीमान लिम्बूको घरमा आक्रमण गर्दै १०/१५ जनाको समूह बिहे घरबाट पैसा र सुनचाँदीका गरगहना लुटेर फरार भएको छ । भगीमानकी छोरी २३ वर्षीया सम्झना लिम्बू र नुवाकोट घर भएका सुदीप राईबीच बिहेको कार्यक्रम समापन भइसकेर सबै जना सुतिसकेपछि आएको समूहले एक्कासि आक्रमण गरेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताउनु भयो ।
उहाँका अनुसार आक्रमणबाट बेहुलीका बुवा ५९ वर्षीय भागीमान, दिदी ३० वर्षीया सविना लिम्बू (राई), कान्छा मामा केराबारी–९ का ४५ वर्षीय भगत याक्खा र बिहेमा बेहुलातर्फबाट जन्ती आएका भोजपुरको भोजपुर नगरपालिका–७ का ३३ वर्षीय रमेश राई घाइते भएका छन् । सबैको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये बेहुलीका बुवा भागीमान र मामा भगतको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुको टाउको, खुट्टा, हात, अनुहार लगायत शरीरका विभिन्न भागमा गहिरो चोट रहेको एसपी खड्काले बताए । बेहुली, बेहुला लगायत बिहे घरमा रहेका अरु भने भागेर आक्रमणबाट बचेका छन् । बिहे सकिएकाले बेहुलीका घरका सबै जना र जन्ती आएकाहरु साउण्ड सिस्टम बन्द गरेर सुतिसकेका थिए ।
मादक पदार्थ सेवन गरेर हिजो राति १० बजेतिर आएको एउटा समूहले साउण्ड सिस्टम बजाएर नाच्न पाउनुपर्ने माग राख्दै सुरुमा विवाद गरेको थियो । त्यहाँबाट गएको समूह फेरि एक घण्टापछि आएर होल्ला गर्न थाल्यो । वडा अध्यक्ष नारायणप्रसाद चेम्जोङ लिम्बूका अनुसार त्यही समूहले बिहान ३ बजेतिर आएर बिहे घरमा आक्रमण गर्दै आतंक मच्चाएको हो । सुरुमा ढुंगामुडा गर्दै पुगेको समूहले घरेलु हतियार खुकुरी, भाला, रड, दाउरा लगायतले आक्रमण गर्न थालेको एसपी खड्काले बताउनु भयो । आक्रमणपछि बिहे घरमा भागदौड मच्चिएको थियो ।
घरमा बसेकाहरु ज्यान बचाउनलाई चिच्याउँदै र आत्तिदै भागेका थिए । भागीमानका ज्वाई कमल राईले भागेर ज्यान नबचाएको भए घटनामा अझै ठूलो क्षति बेहोर्नुपर्ने अवस्था आउने बताउनु भयो । होहल्ला गर्दै ढुंगामुडा हुन थालेपछि सुरुमा रोक्ने प्रयास गर्दा नसकेको उहाँको भनाइ छ । घटनाका बारेमा थाहा पाएर प्रहरी टोली आएको सुनेपछि आक्रमणकारी बिहे घरबाट फरार बनेका कारण थप क्षति हुन नपाएको बताइको छ । बिहेमा बेहुलीको नाममा जम्मा भएको दुई लाख ३५ हजार पाँच सय ४० रुपैयाँ नगद र बेहुलीले लगाएका सुनचाँदीका गरगहना लुटपाट गरेर त्यो समूह भागेको प्रहरीले जनाएको छ ।
बिहे सकिएपछि बेहुलीले राखेको ठाउँबाट पाँच तोलाजति सुन र चाँदीका विभिन्न गहना तथा नगद लुटेर आक्रमणकारी फरार बनेको एसपी खड्काले बताउनु भयो । उहाँका अनुसार छ लाखभन्दा बढीको लुटपाट भएको छ । आक्रमणमा केराबारी–७ का २८ वर्षीय मुस्कान चेम्जोङ लिम्बू, २५ वर्षीय निशान चेम्जोङ लिम्बू, ३० वर्षीय विश्वास लिम्बू, केराबारी–८ का २२ वर्षीय भाइराजा लिम्बू लगायतको संलग्नता रहेको जानकारी प्रहरीले दिएको छ । घटनापछि आक्रमणमा संलग्न फरार रहेका कारण खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।

