विराटनगर, १५ फागुन । मोरङको केराबारीमा आज बिहान भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा सुनसरीको इटहरी उपमहानगरपालिका–३ का १८ वर्षीय गजेन्द्र राईको ज्यान गएको हो ।

तीव्र गतिमा रहेको को २ त ५५०० नम्बरको ट्याक्टर आफै अनियन्त्रित भएर बिहान ८ः३० बजेतिर दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिनु भयो । दुर्घटनामा ज्यान गुमाएका राई त्यही ट्याक्टरका सह–चालक रहेको खुलेको छ । ट्याक्टरले किचेर गम्भीर घाइते भएको अवस्थामा उद्धार गरेर उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्याएपछि बिहान ९ः३० बजेतिर राईको मृत्यु भएको प्रहरी निरीक्षक ढकालको भनाइ छ ।

दुर्घटनामा इटहरी–३ का २२ वर्षीय राजु थापा घाइते भएका छन् । गम्भीर अवस्थाका उनको धरानमै उपचार भइरहेको प्रहरीले जनाएको छ । थापाले ट्याक्टरमा सामग्री लोड÷अलोडको काम गर्दै आएको बताइएको छ । मोरङको केराबारी गाउँपालिका–५ पिपलचोकमा ट्याक्टर दुर्घटनामा परेको हो ।

ढकालका अनुसार गिट्टी लोड गर्नका लागि खोलातिर जाँदै गरेको ट्याक्टर दुर्घटनामा परेको खुलेको छ  । उहाँले ट्याक्टर र चालक इटहरी–३ का २७ वर्षीय राम दजीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको बताउनु भयो ।