विराटनगर, १० फागुन । धामीझाँक्रीको एउटा समूहले मोरङको कानेपोखरी गाउँपालिका–७ का ३३ वर्षीय भीमकाजी गुरुङमाथि मरणासन्न हुने गरी आक्रमण गरेको छ । झारफुक गरेर उपचार गराइदिने नाममा गुरुङमाथि निर्घात कुटपिट र बर्बरतपूर्वक ढंगले आक्रमण गरिएको हो ।
स्थानीय श्री पपुलर बोर्डिङ स्कुलका शिक्षक गुरुङ १२ वर्षदेखि शिक्षण पेसामा हुनुहुन्छ । धामीझाँक्रीको समूहले कुटपिट गर्दा घाइते भएपछि गुरुङलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । स्वास्थ्यमा केही सुधार भएपछि डिस्चार्ज पाएका उनी अहिले घरमै आराम गरिरहनु भएको छ । तर उहाँ उठेर हिँडडुल र राम्ररी कुराकानी गर्न एवं खानाखान सक्ने अवस्थामा नरहेको दाजु रचनमान गुरुङले बताउनु भयो । सात वर्षअघि उहाँलाई मानसिक समस्या देखा परेको थियो ।
परिवारले उपचारका लागि विराटनगर, काठमाडौं र भारतको सिलिगुडीका विभिन्न अस्पताल पुर्याए पनि रोगको पहिचान हुन सकिरहेको छैन । वृद्धा आमा इन्द्रकुमारीका अनुसार भीमकाजीलाई लट्ठ परेर एकोहोरो बन्ने र बेहोस हुने समस्या दोहोरिरहन्छ । धामीझाँक्रीको काम गर्ने व्यक्तिका बारेमा सामाजिक सञ्जाल युट्यूबमा धेरै प्रचार गरेको पाइएपछि परिवारका सदस्यले भीमकाजीलाई झारफुकका लागि बेलबारी नगरपालिका–४ बुधबारेस्थित धामीको काम गर्दै आएका एक व्यक्तिको घरमा पुर्याए । त्यसपछि बिना कारण धामीझाँक्रीको काम गर्दै २५ वर्षीय कृष्ण घतानी, केही युवा र झाँक्रीका रुपमा देखा परेका केही महिला तथा युवतीहरुले सामूहिक रुपमा आक्रमण गरेको प्रहरीले जनाएको छ ।
घटना फागुन ५ गते बिहानको हो । दर्दनाक हिसाबले सबै मिलेर आक्रमण र निर्घात कुटपिट गरेको भिडियो पनि सार्वजनिक भएको छ । उक्त घटनाको भिडियो अहिले सामाजिक सञ्जाल युट्यूबमा भाइरल बनेको छ । धामीको काम गर्ने कृष्णले बारम्बार खुकुरीले भीमकाजीलाई प्रहार गर्न खोजेको र केही महिला तथा युवतीले भुइँमा लडाईलडाई बारम्बार छात्ती, ढाड लगायत शरीरका विभिन्न भागमा मुक्का र लात्ताले प्रहार गरेको भिडियोमा देख्न सकिन्छ ।
कुटपिटको दुखाई सहन नसकेर उनले बारम्बार आफूलाई मारिदिन आग्रह गरिरहेको भिडियो निक्कै दर्दनाक छ । त्यो अराजक र उत्तेजक भीडले वृद्ध आमा इन्द्रकुमारीमाथि पनि आक्रमण र कुटपिट गरेको प्रहरीले जनाएको छ । आक्रमणबाट भीमकाजीको छात्ती, अनुहार, घाँटी, ढाड लगायत शरीरका विभिन्न भागमा घाउ र चोट लागेको छ ।
दाजु रचनमानका अनुसार कुटाइबाट थला परेकी आमा इन्द्रकुमारी ओछ्यानबाट उठ्न सकिरहनु भएको छैन । पीडित परिवारको किटानी जाहेरीपछि प्रहरीले नियन्त्रणमा लिएर धामीझाँक्रीको काम गर्दै आएका कृष्णविरुद्ध अभद्र व्यवहारको मुद्दामा म्याद थप गरेर घटनाको अनुसन्धान अघि बढाएको छ ।
इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले घटनामा सात÷आठ जनाको संलग्नता रहे पनि तत्काल पहिचान खुलेका एक जनालाई मात्रै पक्राउ गरिएको र अरुको खोजी भइरहेको जानकारी दिनु भयो ।

