विराटनगर, १० फागुन । प्रहरीले लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित मोरङको कटहरीबाट तीन जना पुरुषलाई पक्राउ गरेको छ । आठ ग्राम ब्राउन सुगरसहित कटहरी गाउँपालिका–२ का ३३ वर्षीय धनीराम चौधरी, कटहरी–४ का ३७ वर्षीय मनराज शेख र २३ वर्षीय कैलाश मण्डललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले तीनै जनालाई कटहरी–४ स्थित चमराही चोकबाट हिजो दिउँसोतिर नियन्त्रणमा लिएको हो । प्लाष्टिकमा प्याक गरेर राखेको अवस्थामा उनीहरुको साथबाट ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । ब्राउन सुगर अन्तर्राष्ट्रिय बजारमा उच्च गुणस्तर र महँगोमध्ये लागुऔषधमा पर्छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले तीनै जनाविरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउन आज म्याद थप गरेर घटनाको अनुसन्धान सुरु गरिएको बताउनु भयो ।

पक्राउ परेकाहरुको साथबाट ब्राउन सुगर किनबेचका लागि तौल लिन प्रयोग गरिने मेसिन पनि बरामद भएको छ । मेसिन र ब्राउन सुगरसहित तीन जना पक्राउ परेपछि  उनीहरु यसका कारोबारी भएको हुनसक्ने प्रहरीको अनुमान छ ।