विराटनगर, १० फागुन । प्रदेश १ को राजधानी विराटनगरमा ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन विद्यार्थीहरु सडकमा निस्कन थालेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको पहल र कलेजसँगको सहकार्यमा विद्यार्थीहरु सडकमा निस्किएर अस्तव्यस्त अवस्थामा रहेको ट्राफिक व्यवस्थापनमा सहयोग पुर्याउन थालेका हुन् ।
विद्यार्थीको सहयोगका कारण सडकमा सवारी आवागमन प्रभावकारी बन्ने, सवारी जाम हट्ने, ट्राफिक व्यवस्थापन चुस्त बन्ने र दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । ट्राफिक प्रहरीले हिजोदेखि विराटनगरको लर्डबुुद्ध कलेजमा अध्ययनरत विद्यार्थीलाई ट्राफिक नियम सम्बन्धी आवश्यक प्रशिक्षण दिन थालेको छ । त्यसको अगुवाई मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर) चन्द्रबहादुर खड्काले गर्नु भएको छ । आवश्यक प्रशिक्षण पाएपछि विद्यार्थीहरु स्वयंसेवकका रुपमा सडकमा निस्किएर ट्राफिकको सहयोगीको भूमिका देखिन थालेका हुन् ।
जनशक्ति कम रहेको अवस्थामा ट्राफिक व्यवस्थापनलाई चुस्त बनाएर लैजानुपर्ने चुुनौतीका सामु ट्राफिक प्रहरीले विद्यार्थीलाई आवश्यक प्रशिक्षण दिइरहेको छ । प्रशिक्षणबाट ट्राफिक नियमको उल्लंघन र पालनाका बारेमा सिकेपछि विद्यार्थीहरु सहयोगी बनेर सडकमा निस्कँदै ट्राफिक प्रहरीलाई मद्धत गर्न थालेका हुन् । प्रशिक्षणपछि विद्यार्थीले सडक अनुशासनको पालना र पैदल यात्रुलाई बाटो काट्दा जेब्रक्रस तथा हिँडडुल गर्दा सडक पेटीको प्रयोग गर्न सिकाउन थालेको जानकारी खड्काले दिनु भयो ।
उहाँका अनुसार निषेधित ठाउँमा पार्किङ नगर्न, मापसे नगरिकन र नियमको पालना गरेर मात्रै सवारी चलाउन, ‘सिल्ट बेल्ट’ एवं जुत्ता र पोसाक तथा हेल्मेटको ‘क्लिप’ लगाउन चालकलाई विद्यार्थीले अनुरोध गरेर ट्राफिक नियमको पालनामा सहयोग गरिरहेका छन् । लर्डबुद्ध कलेजका प्रबन्ध निर्देशक राजेश भट्टराईले विद्यार्थीलाई पढाईमा मात्रै केन्द्रीत गर्नेभन्दा पनि प्रशिक्षणमार्फत सडकको नियम र कानुनका बारेमासमेत जानकारी दिन थालिएको बताउनु भयो ।
यस्ता अतिरिक्त क्रियाकलापले व्यक्तित्व विकास गर्न, नियम र कानुनका बारेमा जानकारी राख्न तथा विद्यार्थीलाई समाजसेवा र सामाजिक कार्यमा अग्रसर हुन मद्धत पुग्ने उहाँको बुझाइ छ । सडक समस्या समाधानमा शैक्षिक संस्था र विद्यार्थीसँग सहकार्य गर्दा सकारात्मक नतिजा प्राप्त हुने अपेक्षा ट्राफिक प्रहरीले राखेको छ । विराटनगरमा मात्रै एक साताभित्रमा आठ सयजति विद्यार्थीलाई प्रशिक्षित गराएर सडक प्रयोगकर्तालाई विद्यार्थीमार्फत सचेत गराउने तयारी छ ।
आवश्यक प्रशिक्षण पाएपछि ट्राफिकको सहयोगी बनेर स्वयंसेवकका रुपमा निस्कने विद्यार्थीले सडकमा अनुगमन गर्दै सचेतनामुलक सन्देश दिने गरेको प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्माले बताउनुभयो ।

