विराटनगर, ९ फागुन । मोरङको उर्लाबारीमा ट्रकमा स्कुटर ठोक्किएर भएको दुर्घटनामा परेर दुई युवाको मृत्यु भएको छ । उर्लाबारी नगरपालिका–४ भद्रमारी चोकस्थित पूर्व–पश्चिम लोकमार्गमा गय राति दुर्घटना भएको हो ।

अगाडि रहेको गाडीलाई ओभरटेक गरिरहेको ट्रकमा तीव्र गतिमा रहेको स्कुटर आएर ठोक्किँदा दुर्घटना भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताउनु भयो । पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ क १०३५ नम्बरको ट्रकसँग विपरीत दिशाबाट आउँदै गरेको को ३१ प ५१ नम्बरको स्कुटर ठोक्किएको प्रहरीको भनाइ छ ।

दुर्घटनामा परेर स्कुटरमा सवार उर्लाबारी–८ सिसौलीका २३ वर्षीय प्रदीप धामी र २२ वर्षीय सुदीप भुजेलको मृत्यु भएको जानकारी राईले दिनु भयो । उहाँका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको उर्लाबारीस्थित अरनिको अस्पतालमा राति ८ः१५ बजेतिर ज्यान गएको हो । मृतक दुवै जना स्कुटरमा सवार रहे पनि चालकको भने पहिचान हुन नसकेको राईको भनाइ छ ।

दुर्घटनामा स्कुटर पूर्ण रुपमा क्षतिग्रस्त बनेको छ भने ट्रकको पनि अगाडिको भागमा क्षति पुगेको छ । ट्रक र चालक झापाको कमल गाउँपालिका–६ का ४३ वर्षीय भक्तबहादुर दाहाललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । मानवीय क्षति नै हुने गरी भएको दुर्घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेलको नेतृत्वमा टोली खटिएको छ ।