विराटनगर, ७ फागुन । विराटनगरस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा आज दिउसो आगलागी भएको छ । विराटनगर १३ भेटिनरी रोडस्थित सो कार्यालयको पहिलो तल्लामा रहेको कार्यालय प्रमुखको कोठामा आगलागी भएको हो ।

आगलागीबाट सो कोठामा भएका सम्पूर्ण सामग्रीहरु जलेर नष्ट भएको छ । आगलागीबाट कार्यालय प्रमुख डाक्टर सजयकुमार यादवको कोठामा रहेको कम्प्युटर ३ थान,प्रिन्टर २ थान,ल्यापटपसहित कोठामा रहेका सम्पुर्ण फर्निचर र महत्वपुर्ण फायलहरु समेत जलेर नष्ट भएको छ । आज दिउसो १२ बजे कार्यालय संचालनमै रहेको समयमा आगलागी भएपनि कार्यालयमा रहेका कर्मचारीले भने आगो दन्केपछि मात्र थाहा पाउनसकेको बताएका छन ।

ढिलोगरि मात्र थाहा पाएको बताउने कर्मचारीहरुले फोन गरेपछि १ बजेर ५ मिनेटमा मात्र दमकल घटनास्थल पुगेको थियो । दमकलले झण्डै एकघन्टापछि मात्र आगो नियन्त्रणमा लिएको थियो । प्रमुख यादव भने एउटा शिवीरमा सहभागि हुन झापाको भद्रपुर जानु भएको कर्मचारीहरुले जानकारी दिएका छन ।

१४ जना कर्मचारी रहेको सो कार्यालयमा आगलागी भएको एकघन्टासम्मपनि कर्मचारीले थाहा पाउन नसक्नुलाई रहस्यमय घटनाको रुपमा लिइएको छ ।