विराटनगर–कोरोनाको कारण झण्डै १० महिनादेखी बन्द रहेका भारतसंग जोडिएका सीमानाका खुलेपछि भन्सार छलेर भित्रने विस्कुटको कारण नेपाली उद्योगहरुको उत्पादन ५० प्रतिशतमा खुम्चिएको छ । 

उद्योगीहरुको गुनासो बढेपछि बाणीज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनी र मैदालाई कच्चापदार्थ मान्नका लागि सरकारको आर्थिक नीतिमा समावेश गर्न पहल गर्ने भएको छ । विभागका  महानिर्देशक नेत्रप्रसाद सुवेदीले उद्योगलाई बचाउन आगामी आर्थिक नीतिमा विस्कुट उद्योगका लागि मात्र आयात हुने चिनी र मैदालाई कच्चा पदार्थको रुपमा लिनका लागि आफुले पहल गर्ने बताए ।   

इलामको पशुपति नगरदेखी पश्चिमनेपालका भारतसंग जोडिएको खुला सिमानाको फाइदा उठाउदै अवैध रुपमा भारतीय बिस्कुट भित्रन थालेपछि नेपाली विस्कुट उद्योगले आफ्नो उत्पादन ५० प्रतिशत कटौति गरेका छन । 

कोरोनाको कारण सीमानाका पूर्णरुपमा बन्द हुदा विस्कुट उद्योगहरुको उत्पादन शतप्रतिश रहेको तर नाका खुल्नासाथ भित्रीन थालेको अवैध विस्कुटले उत्पादन ५० प्रतिशत खुम्चिएको उद्योगीहरुले उल्लेख गरेका छन । 

पाँच बर्ष अघिसम्म नेपालभरिमा ३५ वटा विस्कुट उद्योगहरु संचालनमा थिए । तर भारतबाटै चिनी र मैदा ल्याएर नेपालमा विस्कुट उत्पादन गरि भारतीय बजारमा नै प्रतिष्पर्धा गर्नु पर्ने बाध्यताका कारण २१ उद्योग बन्द भएका छन । सरकारले विस्कुट उद्योगमा प्रयोग हुने मैदा र चिनीलाई कच्चा पदार्थ मानेर भन्सार छुट नदिदा संचालनमा रहेका १४ उद्योगको अवस्था पनि नाजुक रहेको नेपाल विस्कुट उत्पादक संघका उपाध्यक्ष तथा गुडलाइफ विस्कुटका संचालक मेहश जाजुले बताए । 

जाजुका अनुसार लकडाउनको समयमा नेपाली उत्पादनले स्वदेशी बजारमा नै राम्रो खपत पाएको र त्यो बेलामा माग बढी भएको कारण उद्योगहरुले नयाँ प्लान्ट थप्नु पर्ने अवस्था आएपनि अहिले भारतीय बिस्कुट भन्सार छलेर आइरहेकाले नेपाली विस्कुटको खपत ५० प्रतिशत घटेको छ । जस्को कारण उद्योगको उत्पादन पनि ५० प्रतिशतमा खुम्चिएको छ । 

जाजु भन्छन‘नेपाली विस्कुट उद्योगलाई जोगाउन सरकारले उद्योगले ल्याउने चिनीमा २० प्रतिशत भन्सार र मैदामा पनि त्यहि अनुसारको छुट हुनुपर्छ ।’आफुहरुले उद्योग सचिव र प्रदेश सरकारको समेत ध्यानाकर्षण गराएपनि विस्कुटको अवैध प्रवेश नरोकीएको उनले बताए । 

त्यसैगरि क्वालिटि विस्कुटका संचालक एवं विस्कुट उत्पादक संघका केन्द्रिय सदस्य नवलकिशोर कावराले भारतबाट अवैधबाटो भएर आउने विस्कुट रोक्नु पर्ने र नेपाली विस्कुट उद्योगहरुले ल्याउने चिनी र मैदालाई कच्चा पदार्थ घोषणा गरेर त्यहि अनुसारको भन्सार शुल्क तोक्नु पर्ने उल्लेख गरे । कावराले सरकारले नेपाली बिस्कुट उद्योगहरुको संरक्षणमा ध्यान नपु¥याउँदा राष्ट्रिय उत्पादनमा योगदान र हजारौंलाई रोजगारी दिँदै आएका उद्योगहरु बन्द हुने अवस्था आउने बताए । 

नेपाल विस्कुट उत्पादन संघका सचिव अजय पराजुलीका अनुसार पाँच वर्ष अघिसम्म नेपालमा ३५ वटा बिस्कुट उद्योग संचालनमा हुदा नेपाल विस्कुटमा आत्मनिर्भर हुने अवस्था आइसेको भएपनि तर यो अवधिमा २१ बिस्कुट उद्योग बन्द भइसकेकाले विस्कुटमा परनिर्भरता बढ्न थालेको छ । 

भन्सारको ग्रीन च्यानलबाट न्यून परिमाणमा भारतीय विस्कुट आएपनि चोरीको बाटोबाट भारतीय विस्कुटहरु पार्लेजी, गुडडे, ह्याप्पी ह्याप्पी, टफ लाइफ जस्ता ब्राण्डका बिस्कुटहरु नेपाल भित्रीरहेका छन् । नेपाली बजारमा ती ब्राण्डका जति बिस्कुट भेटिन्छन् भन्सारको ग्रीन च्यानलबाट न्यूनमात्र आयात हुने गरेका छन । 

नेपाली बजारमा चर्चित ब्राण्ड बनिसकेका धेरै बिस्कुट उद्योगहरु अहिले बन्द भएका छन् । मयुर बिस्कुट, चौतारी बिस्कुट, बबी बिस्कुट, सनसाइन बिस्कुट आदि अहिले बजारमा भेटिदैनन् । केही समयअघि ती उद्योगहरु भारतीय उत्पादनसँग प्रतिष्पर्धा गर्न नसकेकै कारण बन्द भएका थिए । 

विराटनगर भन्सार कार्यालयका प्रवक्ता सन्तोष यादवले नियन्त्रणको प्रयास भइरहेको भएपनि भन्सारले मात्र खुला बोर्डर नियन्त्रण गर्न नसक्ने भएकाले अन्य सुरक्षा निकायसंग समन्वय गरेर अवैध रुपमा भइरहेको पैठारी रोक्ने प्रयास भइरहेको बताए । १८ सय किलोमिटर बोर्डर खुला रहेकाले पूर्णरुपमा नियन्त्रणमा लिन समेत कठिन हुने उनले बताए । ग्रिन च्यानलबाट समेत विस्कुट आइरहेको उनले खुलाए । 

बाणीज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले स्थानिय प्रशासनसंग समन्वय गरेर भन्सारबाट हुने चोरी पैठारीलाई नियन्त्रणका लागि आफुले पहल थाल्ने बताए । उनले विस्कुटमा मात्रै नभएर अन्य बस्तुको आयात समेत अवैध रुपमा नाका खुलेपछि बढेको भन्ने गुनासो आएको उल्लेख गर्दै विस्कुल उद्योगहरुले प्रयोग गर्ने चिनी र मैदालाई कच्चा पदार्थको रुपमा भन्सार शुल्क तोक्ने विषय सरकारको आर्थिक नीतिमा नै समावेश गर्नु पर्ने भएकाले आफुले त्यसबिषयमा छलफल गर्ने बताए । 

बिस्कुट उद्योगहरु बन्द हुँदा यस अवधिमा ठूलो संख्यामा रोजगारी पनि गुमेको छ । एउटा सामान्य बिस्कुट उद्योगमा न्यूनतम २०० देखि ४०० जनासम्म उत्पादनमा प्रत्यक्ष जोडिएका कामदारहरु हुन्छन् भने बजारीकरणको क्षेत्रमा त्यतिकै संख्यामा प्रत्यक्ष रोजगार पाउने कर्मचारीहरु हुन्छन् । पाँच वर्षको अवधिमा बन्द भएका बिस्कुट उद्योगबाट मात्र झण्डै १५ हजारले रोजगारी गुमाएको अनुमान छ । 

भएका उद्योगहरु बन्द हुँदै जाने र तस्करी भएर पैठारी भएका विदेशी उत्पादनले बजार ओगट्ने अवस्थाले नेपाली आर्थिक क्षेत्रमा पनि नकारात्मक असर परेकोमा बिस्कुट उत्पादक संघले चिन्ता जनाएको छ । संघले अनधिकृत पैठारी रोक्न माग गर्दै ध्यानाकर्षण गराएको छ ।